जाजरकोटमा राष्ट्रपति पौडेल, घाइतेलाई भने–चिन्ता नलिनू, सबै कुराको प्रबन्ध हुन्छ (तस्वीरहरु)


२१ कार्तिक २०८०, मंगलवार
Bhukampa ramchandra 2 scaled
तस्वीरहरु : रासस

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी आज नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्पको केन्द्रविन्दु जाजरकोटमा पुगेका हुन् ।

Bhukampa ramchandra 1

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी समेत लिएका छन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका छन् । उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Bhukampa ramchandra 3

राष्ट्रपतिको भनाइ उद्ध दृत गर्दै सल्लाहकार पोखरेलले भने–, तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराए ।

Bhukampa ramchandra 4

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाबारेमा जानकारी लिनेछन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ । भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

Bhukampa ramchandra 5

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बरेकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरको भकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनजनको क्षति भएको छ । भूकम्पमा परी हालसम्म १५३ जनाको ज्यान गइसकेको छ भने तीन सय बढी घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७