चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका


२२ कार्तिक २०८०, बुधबार
wang cpc

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत सेक्रेटरी वाङ छुङछेङ आज (बुधबार) नेपाल आउँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव समेत उनी औपचारिक पाँच दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

उनको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । वाङले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यसूची समेत रहेको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि चीनबाट आउन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । वाङ काठमाडौं उत्रिएपछि आज बुधबार दिउँसो २ बजे उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि उनले बिहीबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीसँग भेटेलगत्तै उनले ११ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् । वाङले बिहीबारै अपराह्न ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् ।

चिनियाँ नेता वाङ २४ कात्तिकमा गण्डकी प्रदेशको राजधानी पोखरा जानेछन् । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । सोही साँझ मुख्यमन्त्री पाण्डेले वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । पोखरामा रहँदा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

उनी २५ कात्तिकमा काठमाडौं फर्केपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटमा नेपाल र तिब्बतबीच सीमा सुरक्षालगायतका विषयमा छलफल हुनेछ । सोही साँझ वाङ नेतृत्वको टोलीले नै दूतावासका अधिकारीहरू तथा नेपाली शुभेच्छुकहरूका लागि धन्यवाद ज्ञापन गर्ने रात्रिभोज आयोजना गर्दैछ ।

वाङले २६ वैशाखमा भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गर्नेछन् । त्यसपछि उनी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ । वाङलेयसपछि उनी आफ्नो पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७