मंसिर १४ देखि ‘मध्यपहाडी विशेष अभियान’ गर्ने एमालेको निर्णय

एमालेको जिल्ला र पालिका अधिवेशनको डेडलाइन सर्‍यो


२२ कार्तिक २०८०, बुधबार
Amale 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज (बुधबार) बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, उनले भने । अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने ज्ञवालीले बताए ।

Amale 2

पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उनले बताए । त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ ।

‘अहिले निरासाको खेती गरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोशिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम ग¥यौं । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं’, ज्ञवालीले भने । ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।

बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताए । प्रभावित क्षेत्रमा राहत वितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि एमालेले जनाएको छ ।

एमालेको जिल्ला र पालिका अधिवेशनको डेडलाइन सर्‍यो
नेकपा एमालेले जिल्ला अधिवेशनको मिति सारेको छ । यसअघि माघ मसान्तसम्ममा जिल्ला अधिवेशन गर्ने तयारी गरे पनि अहिले भने जेठ मसान्तसम्ममा जिल्ला अधिवेशन गर्न सकिने निर्णय गरेको छ ।

सचिवालयले बैठकले जेठ मसान्तसम्म गर्न सकिने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र प्रदेश अध्यक्षमा निर्वाचित भएका ६ केन्द्रीय सदस्यको पद रिक्त भएको ज्ञवालीले बताए । गुलावजंग शाह, कैलाश ढुङ्गेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्ण प्रसाद दाहाल र विनोद ढकाल शाह कर्णाली र ढुङ्गेल बागमती प्रदेश अध्यक्ष हुन् भने अन्य अध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय कमिटी सदस्य पद रिक्त भएको जानकारी गराइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७