भाइटीकाको मुखमा १० दिनकी सुत्केरीको मृत्यु, काठमाडौं लैजाने तयारी गर्दागर्दै गयो ज्यान


२९ कार्तिक २०८०, बुधबार
de

खोटाङ । खोटाङमा एक १० दिनकी सुत्केरीको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो ।

यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै निधन भएको हो । श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उनी घर फर्किएकी थिइन् ।

राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाडौँ लैजाने तयारी गर्दागर्दै उनको ज्यान गएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा काम गर्थिन् । जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताए । उनका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७