राज्यले यसरी पनि बाँड्छ नागरिकता ?

दुई फरक व्यक्तिको एकै नाम र नागरिकता नम्बरसहित बुवाको नाम पनि एउटै


२ मंसिर २०८०, शनिबार
nagarikata

महोत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुई वटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीबाट अनौठो घटना बाहिरिएको छ ।

महोत्तरीस्थित बर्दिवास–२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक–फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको हो । संयोगले नाम र वुवाको नाम मिले पनि उनीहरु फरक–फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास–८ बस्ने दलबहादुर भुजेलको प्रतिलिपि जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमै जारी गरेको बर्दिवास–२ का दलवहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।

अचम्म त कहाँनिर छ भने उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिति, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक–फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास–२ बस्ने भुजेलको नागरिकता एक दिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास–२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सूची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिएपछि खोजीको बिषय बनेको थियो ।

पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास–२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने बिषयमा स्थानीयहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पूर्ण भूमिहीन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परेका थिए ।
सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजीकै क्रममा हात्तिलेटबस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सवै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न ।

तर एकबहादुरका मामा पनि हात्तिलेटबाट नै बसाई सरेर बर्दिवास–२ मा आएका थिए । तत्कालीन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मिति बाहेक नागरिकतामा सबै मिलेपछि पूर्ण भूमिहीन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ ।

अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास वैकंवाट कर्जा समेत लिएको बुझिएको छ । एउटै नागरिकता लिएर दुई फरक–फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ । नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।

‘दुवै नागरिकता २०४४ सालमा टोलीवाट बनाएको देखिएको छ’, प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘हामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौ ।’ दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।
यो दुवै नागरिकताको विषय नटुंगेसम्म पूर्ण भूमिहीन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । ‘कानुनीरुपमा उनको नाममा जग्गा देखिएपछि वडाले पनि उनको हितमा केही गर्न सक्दैन’, वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भने, ‘हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउँदै छौ ।’ बिशाल बस्नेत ÷ न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७