नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ


५ मंसिर २०८०, मंगलवार
bhutani

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज (मंगलबार) देखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेसी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । धरौटीमा छुटेका दुई जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ । प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो ।

पूर्व मन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै छन् ।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । सबैको निवेदनमा एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ । अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत कीर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७