स्वर सम्राट नारायणगोपालका ‘तीन सपना’ पूरा गरिंदै


१५ मंसिर २०८०, शुक्रबार
Narayan gopal

काठमाडौं । काठमाडौं महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको घरमा अहिले केही चालचुल हुँदैछ ।

नेपाली गीत सङ्गीत जगतको एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्व जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाएका ‘स्वर सम्राट्’ का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई मूर्त रूप दिइँदै छ ।

काठमाडौं किलागलबाट हालको कामपा–३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल (विसं १९९६–२०४७) को निवासलाई सबै थरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ । तर, यस मंसिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनः निर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ । कोषले हरेक वर्ष गीत सङ्गीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन् ।

कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१) ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसकेका थिए । गीत सङ्गीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो । यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा २०५४ सालमा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथ चोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने २०५५ सालमा महाराजगञ्ज चोकमा उनको शाालिक ठडिइसकेको छ ।

कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीत सङ्गीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै घरेलु वस्तु सङ्ग्रहालयमा राखिने बताउँछन् । त्यसो त नारायणगोपाल–पेमला निवास-सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७-१४ फिटको कक्षमा अहिले नै उनले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत सङ्गीत उपकरण, त्रिइनवन सिडी–क्यासेट–रेडियो, सम्मान–प्रशंसापत्र–पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन् । उनकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन् ।

‘मखमली आवाज’ का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ, कामपा–३ का पूर्व वडाध्यक्ष केसीले भने । भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल शालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वाेत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शैंया, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि सङ्कलन हुँदैछ । ‘त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो’, सङ्ग्रहालय निर्माणमा जुटेका कोषका सङ्गीत निर्देशक राजकुमार श्रेष्ठले भने ।

निवासका अन्य कोठाहरू स–साना नै छन् । बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ । डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ । जहाँ नारायणगोपाल आफैं खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्थे। भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ । कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन । आधुनिक सङ्गीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ। भ्यायलिन विश्वको सबभन्दा लोकप्रिय बाजा हो । जसको प्रयोग पाश्चात्य सङ्गीतदेखि लिएर हरेक प्रकारका सङ्गीतमा गरिन्छ । सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा ‘बेला’ सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ ।

केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग। पछिल्लो सपना भने साथीभाइ–गीत सङ्गीतकर्मीमाझ स्वर सम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाएका रहेछन्, ‘हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन् ?’ गीतकारका गीत मात्र गाए, सङ्गीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अति सूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन् । तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उनले जीवनको उत्तरार्धतिर मात्र गाए ।

जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय सङ्गीत तथा स्वर दिएका नारायणगोपालको निवास पुनर्निर्माणका लागि २० लाख रुपैयाँ र सङ्ग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ । ‘यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौं । यो त राज्यकै दायित्व हो नि’, स्थानीय समाजसेवी समेत रहेका केसीले बताए । यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उनको भनाइ छ ।

गीतगङ्गा भवन
नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ । सङ्गीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ । सात करोड रुपैयाँ लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन् । ‘हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको सङ्गीत कक्षा सुरु गराउने छौं’, राजनीतिकर्मी केसीले भने ।

सहिद, राजनीतिज्ञ-राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसङ्गीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, सङ्घसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा-व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल सङ्गीत महाविद्यालयका सङ्गीत निर्देशक श्रेष्ठ जोड दिन्छन् । यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उनले दिएका छन् । तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्द लगायत रहेका छन् । उनका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७