बाला चतुर्दशीको पूर्व सन्ध्यामा आज पशुपतिनाथमा महादीपदान


२४ मंसिर २०८०, आईतवार
Pashupatinath Temple

काठमाडौं । बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ । पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन् ।

श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन् । १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ । यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ ।

देशका विभिन्न भागबाट आएका श्रद्धालुले दीप कुर्ने क्रममा राति भजनकीर्तन गरेर चुड्का गाएर रात बिताउँछन् । अचेल आफ्नो नजिक रहेका शिवालयमा पनि शतबीज छर्ने चलन छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बाली बस्ने स्थानको व्यवस्था मिलाएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७