समयअगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ


२५ मंसिर २०८०, सोमबार
gurash

सुर्खेत । समुद्री सतहदेखि एक हजार ३०० मिटरदेखि एक हजार ८०० मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको शुरूआतसँगै पैयुँ ढकमक्क पुल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फुल्छ । हिउँद लागेसँगै पैयुँ फुल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ। गुराँस पुल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ । दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थि ए। जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन् । ‘पहिला त पैयुँ वनैभरि थियो’, उनी भन्छन्, ‘कात्तिक लाग्न थालेपछि फुलेर ढकमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।’

‘विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कुल पूजा गर्दा समेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ’, खड्का थपे । गुराँस– ८ का जगत् बिसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित छन् । ‘यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?’ उनी प्रश्न गर्दै भने, ‘यो हराउनु सामान्य कुरा होइन ।’ पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन्। यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ ।

स्थानीयका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालीगुराँस पुल्ने समयमा परिवर्तन आएको बताउँछन् । ‘पहिला लालीगुराँस पुल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिन्थ्यो। यो फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न शुरू गर्छ’, उनी भन्छन् ।

शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि पुल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन् । पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान संकायमा अध्यापन गराउँदै आएका प्राध्यापक डा. पुष्पराज आचार्य बताउँछन् ।

‘अहिले विश्वमै तापमानमा वृद्ध भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धिको असर फूल फुल्ने बिरुवामा अधिक पाइएको छ’, उनी भन्छन् । पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् ।

पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । ‘पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो’, उनले भने । कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउँछिन् । ‘पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन’, उनले भनिन् । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७