जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ : अध्यक्ष ओली

‘गठबन्धन सरकार आफै ढल्ने अवस्थामा पुगेको छ’


२५ मंसिर २०८०, सोमबार
kp 6

दोलखा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरिपूर्ण रहेको ओलीको भनाइ थियो । एमालेको यात्रामा बालबालिका प्रयोग भएको भनि गरिएको प्रचारको ओलीले आलोचना गरेका छन् ।

एमालेले शुरू गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उनको भनाइ थियो । यस्तै, ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रुपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
‘गठबन्धन सरकार आफै ढल्ने अवस्थामा पुगेको छ’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण शान्ति प्रक्रिया नटुंगिएको आरोप लगाएका छन् । पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको पनि उनले बताए ।

‘प्रचण्डजी र शेरबहादुरले शान्ति प्रक्रिया टुङ्गाउन दिनु भएन’, ओलीले भने । उनले वर्तमान सरकारलाई कसैले ढाल्न नपर्ने र ढल्ने क्रममा रहेको पनि दाबी गरे । ओलीले नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए । देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने उनको भनाइ छ । ‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैँ ढल्ने स्थितिमा पुगेको छ’, ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७