अध्यागमन र एयरलाइन्सका कर्मचारीले यसरी मिलाई दिन्थे ‘भिजिट भिसा’ को ‘सेटिङ’


२७ मंसिर २०८०, बुधबार
Visit Visa Gang arrest 1702457313

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अधिकृत, प्रहरी कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकहरु छन् ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

एसएसपी राठौरका अनुसार उहाँकाअनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । एसएसपी राठौरले पक्राउ परेकामध्ये ९ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको बताए । यस्तै, १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन् ।

अपराध अनुसन्धान कार्यालयले बुधबार मात्रै थप ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन् । पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै, एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका पनि उनले बताए ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार ट्राभल्स एजेन्सीहरुले कागजात मिलाउने काम गर्ने गरेका थिए । कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपियाँ लिने गरेका थिए । अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा भने ४० हजार रुपियाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७