मेलम्चीको पानी ल्याउन माग गर्दै आन्दोलनमा उत्रिए काठमाडौँवासी


३० मंसिर २०८०, शनिबार
melamchi

काठमाडौं । मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन काठमाडौँ उपत्यकाका नागरिक आन्दोलनमा उत्रिएका छन् । मेलम्चीको पानी ल्याउन सरकारले तदारुकता नदेखिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गत असार ७ गतेदेखि ठप्प छ ।

आयोजना शुरूआत भएको २२ वर्षपछि २०७७ चैत १५ मा पहिलो पटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो । काठमाडौँका ३२ वटै वडाको प्रतिनिधित्व हुनेगरी मेलम्ची खानेपानी संघर्ष समिति बनाएर आन्दोलन थालेको कोटेश्वरका स्थानीय हरि गौतमले बताए । विभिन्न चरणमा खानेपानीमन्त्री, अर्थमन्त्री तथा सरकारका प्रतिनिधिसँग भेटवार्ता र छलफल गर्दा आश्वासन मात्र पाएको, तर मेलम्चीको पानी आउने छाँटकाँट नदेखिएपछि सडकमा उत्रिनु परेको उनको भनाइ छ । पुस २ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने गौतमले बताए ।

झन्डै ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको आयोजनाबाट पानी नआएपछि गौतम सहितका स्थानीयले अर्थमन्त्री डा. प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई गत मंसिर १२ मा सिंहदरबारमै भेटेर एक हप्ताको ‘अल्टिमेटम’ दिएका थिए । उपभोक्ताको अल्टिमेटमपछि खानेपानीमन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा स्थलगत निरीक्षण् ासमेत गरेका छन् । तर बाढीले संरचनामा क्षति पुर्‍याएका कारण मेलम्चीको पानी कहिले आउँछ भन्न सक्ने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

‘झण्डै चार दशक व्यतीत गरेको, नेपाली जनतालाई अर्बौंको ऋणको भारी बोकाएको, सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा रहेको यो आयोजना अहिले आएर सरकारकै उपेक्षामा परेको देखिन्छ र कागजी रूपमा मात्र प्राथमिकता सूचीमा रहेको प्रष्ट हुन आउँछ’, संघर्ष समितिले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अहिले यो आयोजना सम्बन्धित कर्मचारी र राज्य संयन्त्रका लागि दुहुनो गाईसरह भएको छ र ४० लाखभन्दा बढी जनताका लागि हात्ती आयो हात्ती फुस्सा सरह भएको छ ।’

उनीहरूले सम्भावित बाढीबाट हेडबक्स सुरक्षार्थ भन्दै बन्द गरिएको आयोजना वर्षायाम सकिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने सुरसार नगरिएको भन्दै आपत्ति जनाएका छन् । २०७७ सालमै उद्घाटन भइसकेको आयोजनाका लागि ११ करोड बजेट छुट्टयाइएको प्रति पनि उपभोक्ताले आर्थिक चलखेलको आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७