संकल्प यात्रामा एमालेप्रति जनताको ‘क्रेज’ देखियो : पृथ्वी सुब्बा गुरुङ (भिडियो)

‘राजतन्त्र र नयाँ दलका पक्षमा जनता छैनन्’


३० मंसिर २०८०, शनिबार
prithibi subba gurung 1

तेह्रथुम । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको दावी गरेका छन् ।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को १६ दिनसम्मको अनुभव सुनाउँदै गुरुङले एमालेविरुद्धको भ्रम चिर्दै यात्रामा देश भरी साथ र समर्थन पाएको बताए । एमालेलाई कोशी प्रदेशमा केही व्यक्तिहरूले लगाएको पहिचान विरोधीको आरोप पनि यात्राको क्रममा नागरिक समर्थनले चिरिदिएको उनले दाबी गरे ।

तेह्रथुममा पत्रकारसँग कुरा गर्दै उपमहासचिव गुरुङले बहुपहिचानसहित अहिलेको संघीयताको मोडल नै एमालेको मोडल भएको दाबी गरे । एमालले नै संघीयतामा सात प्रदेशको कुरा दृढतापूर्वक उठाएको उनले स्मरण गराए । ‘नेकपा एमालेप्रति जनताको व्यापक समर्थनबाट विमुख बनाउन देशी–विदेशी शक्तिले एमालेलाई पहिचान विरोधी भनेर भ्रम फिँजाउने काम गरेका हुन्’, उपमहासचिव गुरुङले भने ।

एमालेको संकल्प यात्राले राजतन्त्र वा नयाँ दलको पक्षमा जनता छैनन् भन्ने कुरा पुष्टि गरेको गुरुङको भनाइ छ । जनताले यात्रामार्फत एमालेविरुद्ध लागेका सबै आरोपको खण्डन गरिदिएको उनले बताए । ‘यात्राको क्रममा एमालेप्रतिको क्रेज देखियो’, उनले भने । मध्यपहाडी लोकमार्ग निर्माण र स्तरोन्नतिको लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

सरकाले निर्माणका काम ठप्प बनाएर कुनै काम नगरेको यात्राको क्रममा देखिएको उनले बताए । त्यस्तै सरकारले आर्थिक विकासको कुनै काम नगरेको देखिएको पनि उनको भनाइ छ । आर्थिक करिडोरको बारेमा सरकारले नसोच्दा पहाड श्रोतले धनी हुँदा पनि समृद्धिको पथमा अघि बढ्न नसकेको उपमहासचिव गुरुङले बताए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७