फेसबुकमा प्रचार गरेकै भरमा कुनै पनि दल नयाँ हुन सक्दैन : सुरेन्द्र पाण्डे (भिडियो)

‘अब कुनै एउटा जात वा धर्मको नाम जोडेर पहिचानको परिभाषा गर्न सकिंदैन’


३० मंसिर २०८०, शनिबार
surendra pandey

पाँचथर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे अब मध्यपहाडकै पहाड पूर्वदेखि पश्चिमसम्म जोडिने अवस्थामा पुगेको बताएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ पाँचथर पुगेपछि पत्रकारसँग कुरा गर्दै पाण्डेले अब मध्यपहाड प्रगतिको पथमा अघि बढेको बताए । ‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै छ’, उनले भने ।

मध्यपहाडी मार्गको काम छिटो सम्पन्न गर्नेतर्फ वर्तमान सरकारको ध्यान नगएको भन्दै उनले आलोचना गरे । सो सडकको लागि उचित बजेट विनियोजन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । मध्यपहाडको यात्राको क्रममा नागरिकको ठूलो उत्साह देखिएको उनले सुनाए । ‘एमाले सँगसँगै पार्टी अध्यक्ष केपी ओलीप्रतिको लगाव बढेको मैले पाएँ, एक पटक हेर्न र भेट्न पनि जनसहभागिता देखियो’, उनले भने ।

विगतका कार्यक्रममा कार्यकर्ताको सहभागिता बढी हुने गरेको भए पनि यस पटक जनताको सहभागिता बढी देखिएको उनले बताए । यसलाई जोगाउन पार्टीले समीक्षासहित काम गर्ने उनले बताए । मध्य पहाड पर्यटन, विद्युत् उत्पादन, फलफूल, नगदे बाली उत्पादनको सम्भावनाको क्षेत्र रहेको उनले बताए । यसको चुनौती भनेको बसाइसराइ रहेको उनले सुनाए । बसाइसराई रोक्न मध्यपहाडमा नै सहर विकास, औद्योगिकीकरण, उत्पादनमा जोड्ने काम हुनु पर्नेमा उनले जोड दिए ।

एमालेको बेलामा मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण आरम्भ भएकोले पनि एमालले यसमा विशेष ध्यान दिएको र दिनु पर्ने पाण्डेको भनाइ छ । बसाइसराइ रोक्ने यो बाटोलाई आधार बनाएर लाग्नु पर्नेमा उनले जोड दिए । लोकतन्त्रमा हरेक कुराको टुङ्गो संवैधानिक र शान्तिपूर्ण तरिकाले लगाउनु पर्ने उनले बताएका छन् ।

अब कुनै एउटा जात वा धर्मको नाम जोडेर पहिचानको परिभाषा गर्न नसकिने उनले प्रष्ट पारे । त्यसैले पहिचानको संकीर्ण परिभाषामा नअलमलिन उनले आग्रह गरे । फेसबुकमा प्रचार गरेको भरमा कुनै पनि दल नयाँ हुन नसक्ने उनले बताए । देश, काल, परिस्थिति र जनताको समस्या र समाधानको उपाय बुझ्न नसक्ने पार्टी नयाँ हुन नसक्ने उनले प्रष्ट पारे । जनतले देखाएको सहभागिताले एमाले निरन्तर जनताको काममा लाग्ने र जनविश्वास बोकेको पार्टी भएको उनले प्रष्ट पारे ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७