विदेशबाट पैसाकाे सट्टा ऋण बाेकेर फर्किएका बोहोरा गाउँमै कृषिबाट कमाउँदै


१ पुष २०८०, आईतवार
tarkari 1

बागलुङ । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकूल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुन्, जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहोरा ।

रोजगारीका सिलसिलामा केही वर्ष कतार र मालदिभ्समा श्रम खर्चिएका उनी यतिबेला भने गाउँमै कृषि व्यवसायमा रमाइरहेका छन् । ‘पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन । अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ’, बोहोराले सुनाए । बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुगे । त्यहाँ उनले भने जस्तो काम पाएनन् । कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्किए । त्यसपछि उनी मालदिभ्स पुगे । त्यहाँ पनि तीन वर्ष काम गर्दा भने जस्तो पैसा जम्मा भएन ।

कतार र मालदिभ्समा काम गरेपछि उनलाई काम खोज्दै अर्को देश जान मन लागेन । त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरे । ‘गाउँ फर्केर बाँझो जग्गामा व्यवसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ’, उनले भने, ‘मालदिभ्समा कमाएको पैसा श्रीमतिलाई विदेश पठाउँदा खर्च भयो । श्रीमति फर्केर आइनन् । उतै घरजम गरिन । त्यसपछि फर्किर विदेश जान मलाई मनले दिएन । जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो ।’ त्यसपछि उनले दोस्रो विवाह गरे ।

श्रीमती र छोरासहितको तीन जनाको उनको परिवार अहिले कृषिमै निर्भर छ । उनले हाल छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलाएका छन् । उनको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन् । साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन् । ‘फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु’, उनले भने ।

‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’ मार्फत उनले कृषि ज्ञान केन्द्र बागलुङबाट रु सात लाख अनुदान पाइसकेका छन् । ‘श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ’, उनले भने, ‘आम्दानी भइरहेकाले सजिलो भएको छ ।’ बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाएका छन् । स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफू जस्ता किसानलाई सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७