पहिचानको वास्तविक हिमायती एमाले हो : शेरधन राई (भिडियो)


२ पुष २०८०, सोमबार
sherdhan

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीबाट शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ १८ औं दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर हिजो (आइतबार) समापन भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीबाट शुरु भएको १,८७९ किमीको ‘समृद्धिका लागि संकल्प यात्रा’ हिजो चिवाभञ्ज्याङमा रातो र चन्द्र सूर्यअंकित झण्डा फहराउँदै समापन गरिएको छ । यसै यात्राका विषयमा नेकपा एमालेका स्थायी कमिटी सदस्य, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

प्रश्न : नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ पाँचथरमा आइपुगेर समापन गर्दैछ । शुरुवातदेखि समापनसम्म आइपुग्दा यो यात्रामा निस्किनुअघि जुन उद्देश्यले हिंडेको थियो त्यो पुरा भयो कि भएन ?
शेरधन राई : नेकपा एमालेले शुरु गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको १,८७९ किमी यात्रा पुरा भएको छ । यो यात्रा आफ्नो उद्देश्यमा शतप्रतिशत सफल भएको छ । खास गरेर नेकपा एमालेले यो संकल्प यात्राको माध्यमबाट पूर्वी पहाडी जिल्ला, कोशी प्रदेशलगायत सुदूरपश्चिमदेखि शुरु भएको यस यात्रामा मध्य पहाडी हाइवे (पुष्पलाल लोकमार्ग) मा पर्ने २६ वटा जिल्लाको अवस्था, त्यस जिल्लाका नागरिकहरुको अवस्था नजिकबाट बुझ्ने, संवाद गर्ने, जनताका आवाजहरु सुन्ने, सुझावहरु संकलन गर्ने कामका अतिरिक्त धेरै जनताको उत्साह, सहभागिता र समर्थन यो यात्रामा रहेको चाँहि हामीले पायौं ।

सम्पूर्णको ध्यान नेकपा एमालेको यो संकल्प यात्रामा केन्द्रित रहेको हामीले पायौं । यस कारणले कि समृद्धिको अभियान नेकपा एमालेले शुरु गरेको छ । विकास र समृद्धि सम्भव छ भन्ने कुरा पनि नेकपा एमालेले सिद्ध गरेको छ । विगतमा सरकारमा हुँदा छोटो अवधिमा पनि विकास सम्भव छ, समृद्धि सम्भव छ । त्यो हाम्रै पालामा सम्भव छ । हाम्रै हातबाट सम्भव छ, हाम्रै नेतृत्वबाट सम्भव छ भन्ने कुरा नेकपा एमालेले विगत सरकारमा रहँदाखेरी त्यो कुरा सिद्ध गरेको छ । स्थापित गरेको छ । त्यस अतिरिक्त अहिले मुलुकको जुन अवस्था छ, विकास ठप्प छ, समृद्धिको अभियान ठप्प छ । आज राजनीतिक अस्थिरता, अराजकता कायम छ । मुलुकमा कुशासन छ, महँगी छ । मुलुकमा तस्करीतन्त्र छ ।

यस्तो खाले जुन अवस्था रहेको बेला नेकपा एमालेप्रति सम्पूर्ण जनताको आशा, विश्वास र भरोसा केन्द्रित भएको चाँहि हामीले पाएका छौं । अब निरासातर्फ होइन, आशातर्फको, भरोसातर्फको र विश्वासतर्फको बाटोको नेतृत्व नेकपा एमालेले गर्दछ भन्ने कुराको एउटा सन्देश पनि, त्यो अनुभूति पनि यो यात्रामा आम जनतालाई दिन नेकपा एमाले सफल भएको छ । र, यो यात्राको माध्यमबाट हामीले समग्र मुलुकको जुन अवस्था बताउनुका साथै मध्य पहाडी भेगका जनताहरुको अवस्था, यहाँको विकास, पूर्वाधार विकासका सबै कनेक्टिभिटीहरुको अवस्था, यहाँको शिक्षाको अवस्था के रहेछ ? यहाँको स्वास्थ्यको अवस्था के रहेछ ? यहाँ भौतिक पूर्वाधार विकासको अवस्था के रहेछ ? विद्युतको अवस्था के रहेछ ? कृषिको अवस्था के रहेछ ? पर्यटनको सम्भावना के रहेछ ? र, अन्य सम्भावनाहरु के रहेछन् भन्ने कुरा नजिकबाट अध्ययन गर्ने, बुझ्ने, सुन्ने काम सँगसँगै यस क्षेत्रको अव विकास हुनुपर्छ, यस क्षेत्रको विकासका निमित नेकपा एमालेले आगामी दिनहरुमा एउटा ठोस अवधारणा तयार गरेर, एउटा मास्टर प्लान बनाएर यस क्षेत्रको विकासको बारेमा, समृद्धिको बारेमा र यसलाई हराभरा बनाउने बारेमा नेकपा एमालेले एउटा स्पष्ट खाका तयार गर्ने एउटा आधार पनि यो संकल्प यात्राबाट प्राप्त भएको छ ।
प्रश्न : तपाई कोशी प्रदेशको संस्थापक मुख्यमन्त्री पनि हुनुहुन्छ । खास गरी यो कोशी प्रदेश चाँहि संकल्प यात्रा टोली प्रवेश गरिसकेपछि सुरक्षाको घेरामा हिंड्नु पर्ने, सुरक्षा घेराका कार्यक्रम गर्नुपर्ने परिस्थिति आयो भने त, यद्दपी हर्कपुरमा, वसन्तपुरमा र पाँचथरमा त ठूल्ठूला कार्यक्रम गरेर तपाईहरु उत्साहित नै हुनुहुन्छ । उद्दपी सुरक्षाको घेरामा कार्यक्रम गर्नुपर्ने स्थितिलाई तपाई कसरी हेर्नुहुन्छ ?
शेरधन राई : कोशी प्रदेशमा यो यात्रा प्रवेश गर्दैगर्दा घुर्मीमा हामीले सबैभन्दा पहिलो र ठूलो सभा आयोजना गर्‍यौं । त्यो सभालाई विथोल्नका निम्ति विभिन्न खालका अवरोधहरु सिर्जना गर्ने, हल्लाहरु, प्रचारहरु चाँहि गरिए । खास गरेर चाँहि पहिचानवादीको नामबाट त्यस प्रकारको चाँहि आतंक सिर्जना गर्ने, त्यस प्रकारका वाधा र अवरोधहरु सिर्जना गर्ने काम व्यापक रुपमा गर्न खोजियो । तर ती सबै प्रकारका वाधा व्यवधानहरुलाई तोड्दै संकल्प यात्रालाई सफल तुल्याउनका निम्ति, सहभागिता जनाउनका निम्ति जनताहरु बीसौं हजारको संख्यामा त्यहाँ सहभागी हुनुभयो । यसले बताउँछ कि नागरिकहरु के चाहन्छन् भन्ने कुरा । त्यो सभाले चाँहि बतायो ।

त्यसपछि त्यस्तै प्रकारका चाँहि हल्ला, प्रचारबाजीहरुको बीचबाट यो यात्रा बढ्दै जाने क्रममा हिजो मात्रै फिदिम बजारमा हामीले अन्तिम सभा हामीले आयोजना गर्‍यौं । र, त्यो सभामा देखिएको जनसागर, त्यहाँ जनताहरुको उर्लिएको व्यापक सहभागिता देखियो । त्यसले बतायो कि अब जनता के चाहन्छन् ? र, नेकपा एमालेले के उद्देश्य राखेर यो यात्रा शुरु गरेको रहेछ ? भन्ने कुरा स्पष्ट भएको छ । त्यसो हुँदा अब कुनै पनि मागहरु छन्, चाहनाहरु छन्, कुनै पनि विषयहरु छन्, त्यसलाई विधिसम्मत तरिकाबाट, वार्ताको माध्यमबाट, संवादको माधयमबाट ती कुराहरुलाई अगाडि बढाउनुको विकल्प छैन । अब त्यस प्रकारका वाधा सिर्जना गरेर, अवरोध सिर्जना गरेर, कार्यक्रमहरु विथोल्ने प्रयासहरु गरेर अब त्यसता खालका चाहना, मागहरु पुरा हुन सक्दैनन् भन्ने कुरा पनि प्रमाणित भएको छ । त्यसो हुँदाखेरी जुन प्रकारले यो यात्रालाई असफल तुल्याउने कोशिस कोशी प्रदेशभित्र गरियो त्यो शतप्रतिशत असफल भएको छ । र, कोशी प्रदेशमा बेग्लै खालको माहौल, बेग्लै खालको उत्साह जनताहरुमा देखियो । सहभागिताले त्यो प्रमाणित गर्‍यो ।

त्यसो हुँदा कोशी प्रदेशमा अब कुनै पनि प्रकारको, नेकपा एमालेप्रति जुन प्रकारको आक्षेपहरु लगाइएको छ, नेकपा एमाले पहिचानविरोधी पार्टी हो । यस प्रकारको लाञ्छना व्यहोर्दै आएको अवस्थामा नेकपा एमालेले प्रमाणित गर्‍यो कि वास्तविक पहिचानको हिमायती पार्टी नेकपा एमाले हो । सबैको पहिचानको, परिचयको प्रतिनिधित्व गर्ने, बोल्ने त्यसको संरक्षण गर्ने पार्टी नेकपा एमाले हो । जुन संकल्प यात्रामा देखिएका झाँकीहरुले पनि विभिन्न साँस्कृतिक झलकहरुले पनि त्यो कुरा सिद्ध गरेको छ । त्यसैले नेकपा एमाले असलीमा पहिचान पक्षधर, पहिचानको हिमायती पार्टी हो । जसले सबै जात, भाषा, धर्म र सँस्कृति मान्ने समुदायहरुको हितको, स्वार्थको, परिचयको, पहिचानको कुरा गर्छ, वकालत गर्छ र समुच्चमा नेपाली पहिचानको, नेपाली परिचयको, नेपालको विकासको र समृद्धिको अगुवाई नेकपा एमालेले गर्दै आएको छ र भविष्यमा पनि गरिरहने छ भन्ने कुरा चाँहि यो यात्राबाट पुष्टि भएको छ ।
प्रश्न : तपाईलाई यो अन्तिम प्रश्न, तपाई यो कोशी प्रदेशकै नेता हुनुहुन्छ । पूर्व मुख्यमन्त्री हुनुहुन्छ, त्यहि समुदायको नेता पनि हुनुहुन्छ । कोशी प्रदेशको नामाकरणमा सबै दलहरु एकमत थिए, दुई तिहाईले पारित भयो प्रदेश नामाकरण गर्दा । तर, पहिचानविरोधी भनेर तपाईहरुलाई मात्रै चाँहि आक्रमणको निशाना बनाइरहेको अवस्था छ, यसो किन भयो ? तपाईहरुलाई जुन विरोधीको आरोप लगाएका छन्, उहाँहरुलाई के भन्नु हुन्छ ?
शेरधन राई : सबैले बुझ्न नसकेको कुरा नै यहि हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु, जुन दलहको प्रतिनिधित्व गरेर प्रदेशसभाभित्र रहेका माननीय सदस्यहरुको दुई तिहाई वहुमतले विधिसम्मतबाट, संवैधानिक प्रवन्ध अनुसार प्रदेशको नामाकरण गर्ने काम गरे । तर, अहिले प्रहारमा प्रदेशले नाम पाए वापत नेकपा एमाले माथि चाँहि अहिले आक्रमण भइरहेको छ । त्यसो हुँदाखेरी वास्तविक रुपमा नेकपा एमालेमाथि जुन खालको प्रहार अहिले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार, नेकपा एमालेका नेताहरुमाथि प्रहार, हामीहरुमाथि चाँहि प्रहार भइरहेको छ । योभित्र आग्रह छ, पूर्वाग्रह छ । र, अन्य प्रकारका चाहना, नियतले नेकपा एमालेमाथि चौतर्फी घेराबन्दी गरिरहेको छ, त्यहि घेराबन्दीको एउटा अंशको रुपमा यो विषयलाई जोडेर वास्तवमा चाँहि पहिचानविरोधी करार गर्ने र नेकपा एमालेलाई प्रहार गर्ने काम भइराखेको छ ।

यदि असलीमा उहाँहरु पहिचानको कुरा गर्नु हुन्छ भने, यदि त्यो नामाकरणसँग उहाँहरु असहमत हुनुहुन्छ भने त्यो कुरालाई प्रदेशसभाभित्र उठाउनु पर्‍यो । प्रदेशसभाभित्र भएका माननीय सदस्यहरु, त्यहाँभित्र रहेका दलहरुप्रति दवाव त्यहाँ केन्द्रित हुनु पर्‍यो । त्यहाँनेर सबैखालका प्रेसरहरु दिनु पर्‍यो । नेकपा एमालेको केन्द्रिय अभियानलाई होइन, नेकपा एमालेको केन्द्रिय नेतृत्वलाई होइन, यो अभियान विकासको अभियान हो, समृद्धिको अभियान हो । यो एउटा संकल्पसहितको अभियान हो ।

त्यसो हुँदाखेरी जुन प्रकारले चाँहि त्यो मुद्दालाई, त्यो विषयलाई जोडेर यो यात्रामा अवरोध सिर्जना गर्ने काम उहाँहरुले गर्नु भो । उहाँहरु नाङ्गिने काम भयो । उहाँहरुले आफ्नो मुद्दालाई कमजोर बनाउने काम गर्नु भयो । त्यसो हुँदा उहाँहरुले त्यस्तो खालको बाटो छोडेर वार्तामा, संवादमा जाने–आउने कुरातिर उहाँहरु अग्रसर हुनुपर्‍यो । त्यसो हुँदाखेरी म उहाँहरुलाई के आग्रह गर्न चाहन्छु भने–प्रदेशले संवैधानिक व्यवस्था वमोजिम, दुई तिहाई माननीय सदस्यहरुको मतबाट, हस्ताक्षरबाट, त्यहाँ माओवादीको पनि हस्ताक्षर छ, त्यहाँ नेपाली कांग्रेसको पनि हस्ताक्षर छ । तर, उहाँहरु के गर्दै हुनुहुन्छ त भन्दा माओवादी र कांग्रेसका नेताहरुलाई फूलमाला लगाएर स्वागत गर्दै हुनुहुन्छ । नेकपा एमालेका नेता र माननीयहरुलाई कालोझण्डा देखाएर विरोध गरिरहनु भएको छ । त्यसैले यसमा खोट छ भन्ने कुरा यी कुराहरुले पुष्टि हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७