नेपाल प्रहरीको सात एसपीका लागि १२ डीएसपीको ‘दौंडधूप’, के हो बढुवा ढिलाइको कारण ?


४ पुष २०८०, बुधबार
police head

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बढुवाको चर्चासँगै एक दर्जन प्रहरी नायब उपरीक्षक (डीएसपी) को ‘दौडधूप’ चलिरहेको छ ।

सात एसपीका लागि १२ जना डीएसपी प्रतिस्पर्धामा छन् । २०६१ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेकाहरू प्रतिष्पर्धामा छन् । अहिले एसपीका लागि दौडधुप गरिरहेका १२ जना नै २०७२ साउन १ गते डीएसपी बनेकाहरू हुन् । नेपाल प्रहरीमा एसपी बढुवाको तयारी भएको निकै लामो समय भइसकेको छ । सँगै डीएसपी बनेका केही भने एसपी बनिसकेका छन् । सँगै डीएसपी भएकाहरू तीन चरणमा एसपीमा बढुवा हुनेछन् । अहिले पनि प्रतिस्पर्धामा रहेका १२ जनामा सात जना मात्रै एसपी हुनेछन् । छुटेकाहरू पछि बढुवा हुनेछन् ।

गत मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका थिए । त्यसअघि नै दुई पद खाली थियो । यसरी एसपीमा रिक्त दरबन्दीको संख्या सात पुगेको हो । प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौ जनालाई बढुवा गर्ने तयारी गरेको छ । प्राविधिक र सवारी व्यवस्थापन शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सारेर नौ पुर्‍याउने प्रधान कार्यालयको तयारी हो । तर, त्यसका निम्ति मन्त्रिपरिषद्ले निणर्य गर्नुपर्ने हुन्छ । उक्त प्रक्रियाका निम्ति प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन् । यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा तयारी गरेको छ ।

प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न राजनीतिक दलको शक्तिकेन्द्रमार्फत आईजीपी वसन्त कुँवरमाथि दबाब सिर्जना गरिरहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि यसमा चासो दिएका छन् । एसपीसम्मको अधिकार आईजीपीसँग हुने भएकाले गृहमन्त्री, प्रधानमन्त्री तथा शीर्ष नेताले आईजीपीमाथि दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७