कांग्रेसको मधेश प्रदेश सम्मेलन आज : सभापति देउवाले सम्बोधन गर्ने, कोइरालाले गरे ‘बहिष्कार’


५ पुष २०८०, बिहीबार
Congress 0RfqHcI62c

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ । भोलि (शुक्रबार) सम्म चल्ने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । सम्मेलनलाई सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापासहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।

सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन् । त्यस्तै, पूर्व उपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिकारुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।

बिहीबार हुने मधेश सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७