एक अर्ब ९० करोड नोक्सानीपछि नेपाल एअरलाइन्सले लिलामीमा राख्यो पाँच जहाज


५ पुष २०८०, बिहीबार
nac nepal airlines

काठमाडौँ । नेपाल एअरलाइन्सले पुराना पाँच वटा जहाज लिलामीमा राखेको छ । आज (बिहीबार) एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

आज गोप्य शिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्रिएका यी जहाजबाट निगमले घाटा ब्यहोरेको थियो ।

आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट ल्याइएका जहाजहरु हाल ग्राउन्डेड अवस्थामा रहेका छन् । तत्कालीन सरकारले निगमको लागि दुर्गम क्षेत्र र क्षेत्रीय विमानस्थलहरुमा उड्ने ६ जहाज चीनबाट भित्र्याउने भनी वि.सं. २०६९ मंसिर १० गते निर्णय गरेको थियो ।

सोहीअनुसार पहिलो खेपमा एक एमए–६० नेपाल ल्याइएको थियो भने त्यसको करिब सात महिनापछि २०७१ कात्तिक १८ गते वाई १२ ई जहाज नेपाली भूमिमा अवतरण गरेको थियो । त्यसपछि तेस्रो खेपमा दुई वर्ष नौ महिनापछि अर्को एमए–६० जहाज हस्तान्तरण भएको थियो । त्यसैगरी, अन्तिम खेपमा २०७४ फागुन १३ मा तीनवटा वाई १२ ई जहाज हस्तान्तरण गरिएको थियो ।

ती ६ जहाजमध्ये एउटा २०७६ चैत १५ गते नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भयो भने बाँकी जहाजहरु मर्मत कुरिरहेका छन् । ती ६ जहाजमध्ये दुई जहाज (एक एमए–६० र एक वाई १२ ई) अनुदानमा प्राप्त भएको हो । यसरी पहिलो र दोस्रो खेपमा आएका जहाज अनुदानका हुन् । तेस्रो र चौथो खेपमा आएका चार जहाज चिनियाँ बैंकबाट सहुलियत ब्याजदर (१.५ प्रतिशत) मा ऋण प्राप्त गरी ३ अर्ब २ करोड ४ लाखमा खरिद गरिएको हो ।

निगमले २० वर्षभित्र यो ऋणको सावाँ र ब्याज भुक्तान गरिसक्नुपर्ने सम्झौता गरिएको छ । कहिले पार्टपुर्जा र कहिले चालकको भाषा समस्याले लामो समयसम्म भूमिस्थ हुनुपर्ने समस्या यी जहाजमा देखिँदै आएको छ । पटक–पटक जहाज भूमिस्थ हुँदा, महँगो चालक दल तालिम खर्च, पार्टपुर्जा र बिमा शुल्क अधिक हुँदा निगमलाई आर्थिक रुपले बोझ हुँदै आएको थियो ।
सुशील घिमिरे निगम सुधार सुझाव कार्यदलअनुसार आर्थिक वर्ष ०७३ र ०७४ मा मात्र चिनियाँ जहाज सञ्चालन नोक्सानी ९१ करोडभन्दा धेरै भयो। निगमका अनुसार अहिले चिनियाँ जहाज सञ्चालन नोक्सानी करिब एक अर्ब ९० करोड ६९ लाखभन्दा बढी हुनपुगेको छ ।

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७