नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल


५ पुष २०८०, बिहीबार
shree

काठमाडौँ । नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एमयुएम अली साब्रीले गरेका थिए । बैठकमा काठमाडौँ–कोलम्बो हवाई सेवा प्रारम्भ भएकामा दुवै पक्षले सन्तुष्टि जनाउँदै कोलम्बो र लुम्बिनीबीच पनि हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको थियो ।

दुवै देशका मन्त्रीले जलवायु परिवर्तनका कारण आफ्नो देशले भोग्नुपरेको असरबारे विचार आदानप्रदान गरेका थिए । उनीहरूले जलवायु न्याय, हानिनोक्सान कोषको प्रारम्भिक परिचालनका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा जोड दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७