नियमनकारी निकाय कब्जा गरेर नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छ : डा. वाग्ले


६ पुष २०८०, शुक्रबार
swarnim wagle11651656030
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताएका छन् ।

आज (शुक्रबार) डा. डिल्लीराज खनालले वैदेशिक सहयोगको प्रभावकारितामा आधारित रहेर लेखेको पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत ‘सेटिङ’ का आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्ने बताए । वैदेशिक सहायता दिने निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने उनको भनाइ छ ।

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बाैको भ्रष्टाचार गर्ने काम भइरहेको दाबी गरे । उनले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए ।

उनले भने, ‘देशै भताभुङ्ग भएको बेलामा केहीले त बाँध्नुपर्‍यो नि । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । कागज मिलाएर अर्बाैँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छाैँ । बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? जहाँ सहयोग चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’

सांसद वाग्लेले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजना बनाउन परामर्शदाताको आवश्यकता नभएको बताए । उनले सिंहदरबारमा १० जना सल्लाहकार राखिएको तर अब प्रदेशहरूमा पनि राख्नुपर्छ भन्ने आवाज उठिरहेको भन्दै आफूहरू सरकार गयो त्यो खारेज गर्ने दाबी गरे । उनले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७