रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ : परराष्ट्र मन्त्री साउद

‘विपिन जोशी आउँदो युद्धविराममा छुट्ने विश्वास छ’


१० पुष २०८०, मंगलवार
Np saud scaled

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका एक सय जना नेपालीहरू घाइते र हराइरहेको भन्ने उजुरी परेको जानकारी दिएका छन् । उनले केही नेपालीहरु भर्ना भएको र भर्ना भएकामध्ये हालसम्म सात जना मारिएको जानकारी रुस सरकारले नै गराएको बताएका छन् ।

‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारी घाइते र हराइरहेका उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन् ।’

बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताएका छन् । राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए । काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए ।

‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ ।’ कतिपय नेपालीहरू युक्रेनको बन्धक छन् । उनीहरूलाई छुटाउन युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको उनले बताए । विपीन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई आफैंले भेटेर पहल गरिदिन आग्रह गरेको र अहिलेसम्म जोशी सुरक्षित नै रहेको उनले बताए ।

परराष्ट्रमन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरेका छन् । इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७