आफ्नै हुटहुटीअनुसार काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति


१० पुष २०८०, मंगलवार
prachanda 3

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चाहनाअनुसार सरकारका काम कारबाही अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् ।

आफू नेतृत्वको सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगरबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आज म देशवासीसामु स्वीकार गर्छु कि सरकार असफल त भएको छैन, तर मेरो आफ्नै हुटहुटीअनुसार परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस त खोस्न छोडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु ।’ पूर्वाधार कति बने भन्ने नभई कति बन्न सक्थ्यो भन्ने समीक्षामा आफू रहेको उनले उल्लेख गरे । उनले अब सरकारको काम गर्ने शैली सुधार्न गर्ने घोषणा गरे ।

उनले पूर्व निर्धारित र अपरिहार्यबाहेकका कार्यक्रममा मात्रै सहभागी हुने जनाए । ‘पूर्वनिर्धारित र अपरिहार्यबाहेकका बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम बजेटको तयार र विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुने छ’, उनले भने ।

उनले यही साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संरचनागत सुधार गर्ने योजना सुनाए । उनले यसलाई सिंगो राज्यका लागि एउटा संकेत र सन्देशका रूपमा व्याख्या गरे । अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७