सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा


११ पुष २०८०, बुधबार
Sandeep Lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो ।

मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भए पनि बहस सकिएको छैन । यसअघि पुस ८ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । यसअगाडि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको थियो । लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिएको थियो ।

पटक–पटक पेशी तोकिदै आएपनि मुद्दामाथि सुनुवाइ हुन सकेको छैन । लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो । बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए । धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए ।

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो । पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७