बालकुमारी घटनामा यातायात मन्त्रीको चरम लापरवाही र जब्बरजस्ती देखियो : गगन थापा

‘माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको औचित्य छैन, तत्काल हटाई दिनुस्’


१६ पुष २०८०, सोमबार
gagan thapa

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । आज (सोमबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नु भएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लोकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएको हो । माइतीघरमा निषेधाज्ञाको औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापर्बाहीका कारण भएको बताएका छन् । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाही भएको उनले बताए । लापर्बाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए ।

उनले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाही भएको पनि बताए । उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए । उनले भने, ‘यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन् । यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्याे।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७