भन्सार विभाग र जिल्ला कार्यालय अनिश्चितकालसम्म ठप्प पार्ने आजपाको घोषणा


२२ पुष २०८०, आईतवार
aajapa 1

काठमाडौं । प्रभू साहको आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन जारी छ ।

भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले पहिलो र दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्दा सरकारले आफूहरूको माग सुनुवाइ नगरेका कारण आफूहरूले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएकी छन् ।

संघर्ष समितिका संयोजक साहका अनुसार तेस्रो चरणको आन्दोलनका क्रममा २७ पुसमा राजस्व नीतिबारे अर्थ विज्ञहरूसँग काठमाडौँमा अन्तरक्रिया कार्यक्रम, २५ पुसदेखि १० माघसम्म सीमा क्षेत्रका स्थानीय तहहरूमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको जनाएकी छन् ।

यस्तै ६ माघमा भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरूसँग छलफल, ११ माघदेखि १९ माघसम्म तराई–मधेसका जिल्ला सदरमुकाममा सर्व पक्षीय भेला तथा मोटरसाइकल र्‍याली, १३ माघमा काठमाडौँमा मोटरसाइकल र्‍याली र २१ माघदेखि अनिश्चितकालसम्म भन्सार विभाग घेराऊ तथा जिल्लाका भन्सार कार्यालयहरू ठप्प गर्ने कार्यक्रम रहेको छ । संघर्ष समितिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पक्राउ गर्नुका साथै लाठी चार्ज समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७