बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन


२४ पुष २०८०, मंगलवार
bajura hospital

बाजुरा । जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका प्रमुख डा. समिता पुनका अनुसार १५ शैंया (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उनले जानकारी दिइन् । यसका लागि आवश्यक स्वास्थ्य सामग्री रु ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए ।

हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए । यसअघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर धनगढी, कञ्चनपुर, नेपालगञ्जलगायतका अस्पतालमा जानुपर्ने स्थानीयलाई बाध्यता थियो ।

जिल्ला अस्पताल हाल १५ शैंया सञ्चालन भए पनि केही समयमै ५० शय्या सञ्चालनको प्रस्ताव गरिए त्यो तत्काल सहज छैन । पन्ध्र शैंया सुविधाकै अस्पताल सञ्चालन गर्न तीन वर्ष जनशक्तिको तलब र केही उपकरण सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताए । थेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए । सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले बताइन् ।

ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने डा. चेतराज धामीले बताए । बाजुरा अस्पतालले हाल विशषेज्ञसहितको सेवा दिइरहेको छ । नयाँ भवन निर्माणसँगै सुविधा दिन सहज हुने र उपचारकै लागि जिल्ला बाहिर गएर लाखौँ रकम खर्चिनुपर्ने बाध्यता हट्ने सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७