प्रधानमन्त्रीको दावी : विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ


१ माघ २०८०, सोमबार
prachanda 9
फाइल फोटो

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार आएको दाबी गरेका छन् । आज (सोमबार) अर्घाखाँचीको सन्धिखर्कमा आयोजित आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले अर्थतन्त्रको सुधार हुँदै गएकाले उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरेका हुन् ।

PA Argakhachi IMG 20240115 WA0004

विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको उनले दावी गरे । ‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ ।’ उनले भने, ‘बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । तसर्थ उत्साही भएर काम गरौँ ।’

उनले एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएको दाबी गरे । ‘तपाईहरूलाई थाहै छ–मैले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा भएको छ’ प्रचण्डले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठूलो संशय थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।’

उनले सुशासनका लागि भ्रष्टाचारविरुद्धको अभियान चलाएर सरकार अगाडि बढिरहेको बताए । उनले विभिन्न काण्डलाई छानबिन गरेर टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री प्रचण्डले टाट पल्टिन लागेका संस्थाहरु नाफामा जान थालेको समेत उल्लेख गरे । प्रचण्डले आफ्नो विदेश भ्रमणले कूटनीतिमा समेत उल्लेख्य प्रगति भएको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७