गठबन्धन सरकारले देशको सार्वभौमसत्ता र स्वाधीनता खुम्च्याउने काम गर्‍यो : महासचिव पोखरेल


४ माघ २०८०, बिहीबार
shankar pokharel
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिका कारण देशको सार्वभौमसत्ता खुम्चिएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारका कारण देशको सार्वभौमसत्ता र स्वाधीनता जोखिममा परेको बताए । ‘प्रचण्ड नेतृत्व सरकारले देशको सार्वभौमिकता, सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गरेको छ,’ उनले भने ।

देशभक्तिको सवालमा, राष्ट्रियताको सवालमा नेकपा एमालेले जत्तिको कसैले पनि काम गर्न नसकेको पोखरेलको दाबी छ । एमाले सरकारबाट हटेसँगै यी सबै कुरा ओरालो लागेको उनको भनाइ छ । एमाले सरकारमा रहेको बेला विकास र समृद्धिका अनेक आयोजना सुरु गरेको पोखरेलले बताए । तर, अहिले ती सबै योजनाका काम ठप्प भएको पोखरेलले उदाहरण दिए । आफूले मौका पाएको बेला यति धेरै काम गरेको पार्टी नेकपा एमाले आज चौतर्फी घेराबन्दीमा परेको उनको जिकिर छ ।

पोखरेलले आज उत्पन्न भएका समस्या आजकै परिस्थितिमा समाधान गर्न नसकिने बताए । नयाँ सम्भावनाको जगमा टेकेर समाधान खोज्यो भने मात्र समस्याको समाधान निस्कने पोखरेलले प्रष्ट पारे । समस्या समाधानका लागि नयाँ विकल्प खोज्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७