राममय बन्यो जलेश्वर


६ माघ २०८०, शनिबार
ja

जलेश्वर । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार (जनवरी २२ तारेख) का दिन हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर अहिले महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ । जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।

त्यसैगरी जलेश्वरको प्रत्येक प्रतिष्ठान र घर परिवारमा अहिले ‘राम आँयेगें’ बोलको गीतले गुञ्जिएको छ । यसैबीच राम मन्दिरमा हुन लागेको भगवान् रामचन्द्रको प्राण प्रतिष्ठालाई लक्षित गर्दै जलेश्वर नगरपालिकाले आउँदो सोमबार नगभरिका सबै घर, मठ, मन्दिर, उद्योग, व्यापार, व्यवसाय, पसल, कलकारखाना र नगरभरिका सम्पूर्ण दोबाटो, चौबाटो तथा चोकचोकमा दीप प्रज्वलन गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगर प्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवान्को प्राण प्रतिष्ठाको दिन खुशीयाली मनाउन आग्रह गरेका हुन् । उनले हामी सम्पूर्ण व्यक्तिलाई माता जानकीको नगरवासी (मिथिलावासी) रहेको संज्ञा दिंँदै हाम्रो लागि भगवान् रामको मन्दिरमा प्राण प्रतिष्ठाको दिन गौरव र सम्मानको दिन भएकाले सो दिनमा दीपावली मनाउनुको साथै खुशी साटासाट गर्न आग्रह गरेका छन् ।

साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमबार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन जलेश्वरका युवाले पनि भगवान् रामचन्द्रको प्राण प्रतिष्ठाको दिनलाई स्मरणीय बनाउन सो दिनमा जलेश्वर नगरभरि रामचन्द्र र माता सीताको झाँकी निकाल्ने, रामनाम जापसहितको बाजागाजा र लावा लस्कर निकालेर नगरपरिक्रमा गर्ने, जलेश्वरनाथ महादेव परिसरमा दीप प्रज्वलन गर्ने, जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा साँझपख गङ्गा आरती गर्ने, राति नगरभरि दीपावली गर्न लगाउनेलगायतका कार्यक्रम राखेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७