रोजगारीका लागि ६ महिनामा तीन लाख नेपाली विदेश उडे


६ माघ २०८०, शनिबार
airport 3
फाइल फोटो

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए । उनको भनाइ छ, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्,यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै यूएई जाने रहेका विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार यूएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७