रूसी सेनामा कार्यरत रसुवाका सुन्दर मोक्तानको निधन, ज्यान गुमाउने नेपालीको संख्या १२ पुग्यो

श्रीमानको मृत्युको खबर पाएपछि ओमानमा रहेकी श्रीमती आइपुगिन् नेपाल


८ माघ २०८०, सोमबार
sudar death

रसुवा । रुसी सेनामा कार्यरतरसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ । उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानले कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको जानकारी दिएका छन् । उनले भने, ‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो ।’ अहिले उनको मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ । यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

उनको २६ दिनअघि मृत्युको भएको खबर आएको र शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताएका छन् । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई गरेका थिए । नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए । परिवार पाल्न उनले निर्माण व्यवसाय कम्पनीमा पनि काम गरेका थिए । श्रीमानको मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन् । अहिले उनी श्रीमानको मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।

russia nepali

रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए । क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो । त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेको पाइएको छ । मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक श्रीमती पातलीसँग कुराकानी गरेका थिए ।

मृतकका बाबु कमानसिंह मोक्तान तामाङको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा माओवादीले हत्या गरेका थिए । ०५९ माघ ९ गते १५/२० जनाको समूहमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सुन्दरको परिवारमा बुढी आमा, श्रीमती र दुई छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७