गठबन्धन सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल


१२ माघ २०८०, शुक्रबार
shankar 1

म्याग्दी । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिहरू सलबलाउन थालेको उनले बताए ।

मुलुकको विकास र समृद्धिका योजनाहरू सरकारले अगाडि बढाउन नसकेका कारण जनतामा निराशा छाएको महासचिव पोखरेलले टिप्पणी गरेका हुन् । मुलुकका स्थापित राजनीतिक दलहरूले जनतामा अभियान सञ्चालन गरेर आशाको सञ्चार प्रवाह गर्नुपर्ने बेला आएको उनले बताएका छन् । नेकपा (एमाले) म्याग्दीको दशौँ अधिवेशनलाई शुक्रबार बेनीमा सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकारले मुलुकको आर्थिक विकास र समृद्धिको योजनालाई अघि बढाउन नसकेको बताए ।

जनताको आशा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उनको आरोप थियो । उनले भने, ‘गठबन्धन सरकार असफल भइसकेको छ । जनताको आशा र अपेक्षाअनुसार काम नगरेका कारण लोकतन्त्रमाथि नै अनेक शक्तिहरूले षडयन्त्र गर्न थालेका छन् ।’ लोकतन्त्र विरोधी शक्तिहरूलाई परास्त गर्न र मुलुकको विकास र समृद्धिका लागि एमालेलाई जनतामा स्थापित गर्न आवश्यक रहेको उनले बताए । जनतामा आशा जगाएर लोकतन्त्र र गणतन्त्रप्रति विश्वास जगाउन एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा गरेको उनको भनाइ छ ।

एमालेले सुरु गरे पनि मध्यपहाडी लोकमार्ग यात्रा मुलुककै वृहत् अभियान भएको र हजारौँ जनता सो अभियानमा सहभागी भएको उनले बताए । एमालेले थालेको अभियानलाई असफल बनाउन अनेक शक्ति र तत्वहरू लागिपरे पनि जनताको समर्थनले सफल भएको बताए ।

महासचिव पोखरेलले भने, ‘‘जनताको अपार समर्थन र सहभागिताले विरोधी शक्तिहरू कमजोर बने, लोकतन्त्र र गणतन्त्रको काम छैन भन्ने गलत विचारहरू परास्त भए । मुलुकको विकास र समृद्धिका लागि स्थापित राजनीतिक दलहरूप्रति जनतामा आशाको सञ्चार गर्न सफल भयौँ । अभियानले एमाले फेरि जनतामा बलियो शक्तिका रूपमा स्थापित भएको छ ।’
मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताले राखेका मागहरूलाई समावेश गरेर जनताको नासोका रूपमा सरकारलाई केही दिनअघि मागपत्र बुझाएका छौँ, उनले भने, ‘अब जनताले राखेका मागहरू र गुनासाको सम्बोधन सरकारले गर्दछ वा गर्दैन त्यो हामीले हेर्ने बेला आएको छ । एमालेले विरोध मात्र गर्दैन । सरकारलाई सहयोग पनि गर्दछ भन्ने यो उदाहरण हो ।’

कम्युनिष्ट आन्दोलनको रक्षाका लागि उनले अलग–अलग पार्टीका दोकान थाप्न आवश्यक नभएकाले सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुन अनुरोध समेत गरे । सामाजमा समानता र न्याय स्थापना गर्न एमाले नै मुलुकको बलियो पार्टी भएको उनको दाबी छ ।

अधिवेशनमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालगायतका नेताहरूको सहभागिता थियो । शनिबारसम्म सञ्चालन हुने अधिवेशनबाट जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्ने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिएका छन् । अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७