भट्टलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन


१४ माघ २०८०, आईतवार
supa 1

कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।

शुक्रबार संसदीय दलका १० मध्ये ६ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको थियो । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा मानबहादुर धामी, ओमविक्रम भाट सरल, शिवबहादुर ओली, लक्ष्मी विक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गीतादेवी मालको उपस्थिति थियो । सो बैठकमा भट्ट, मन्त्रीहरु रमेश धामी, झपटबहादुर साउद र जानकी पौडेल कुँवर अनुपस्थित थिए ।

सो निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो । शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय गरेके हो । साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भनिएको छ, ‘हाम्रो पार्टी परम्परा–विधिविपरीत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरेर गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकताका मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो । साथै संसदीय दलको समस्यालाई गम्भीरतापूर्वक लिएर अविलम्ब समाधानका लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस् भन्ने आग्रह गर्ने निर्णय गरियो । नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७