माधव नेपालको दस्तावेज : मुलुकमा राजनीतिक र सरकारको स्थिरतामा प्रश्न उठ्दैछ (पूर्णपाठ)


१४ माघ २०८०, आईतवार
madhav 1
तस्वीर : हरिराम भेटुवाल / रासस

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो राजनीतिक प्रतिवेदनमा एमालेप्रति आक्रामक देखिएका छन् । उनले पार्टी कार्यकर्तालाई जोगाउने र एमालेको विरोध गर्दै सत्ता गठबन्धनलाई कायम राख्दै अघि बढ्ने मार्गनिर्देशन आफ्नो राजनीतिक प्रतिवेदनमा पेस गरेका छन् ।

आज (आइतबार) देखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्दै एमाले अन्य दलभित्र खेलेर जसरी पनि सत्तामा आउन खोजेको आरोप लगाएका छन् ।

एमालेले जसरी पनि सत्ता प्राप्त गर्ने लक्ष्यका राखेर अत्यन्त गैरजिम्मेवार ढंगले सत्ता गठबन्धनभित्र पनि राष्ट्रिय सभाको निर्वाचन अघि खेलेको तर असफल भएको दाबी नेपालले गरेका छन् । ‘सत्ताच्यूत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैरजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ’, अध्यक्ष नेपालको दावी छ, ‘राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडारिइरहेको छ ।’

उनले राष्ट्रिय सभा निर्वाचनअघि एमालेले सत्ता गठबन्धनभित्र खेलेर विभाजन गर्न खोजेको तर सफल नभएको पनि दाबी गरेका छन् । ‘मुलुकमा कोभिडको प्रकोपपछि प्रकट आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ । यसमा केही सुधार भए पनि उठेको राजस्वले चालू खर्च धान्न धौ–धौ परिरहेको छ,’ नेपाललको प्रतिवेदनमा भनिएको छ, ‘मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको छ । व्यापार घाटा चुलिँदै गएको छ । ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुनसकेको छैन ।’

उनले भ्रष्टाचार, कमिसनतन्त्र र तस्करीका अनेकौं काण्डहरु उदाङ्गिएको भन्दै सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको बताएका छन् । ‘आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोशिस भइरहेको छ ।’

उनले यस्तो अवस्थामा वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरु रहेको पनि बताएका छन् । उनले गठबन्धनका दलहरुबिच छलफल गरेर तयार पारिएका न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । गठबन्धनका दलहरुबीचमा आपसी समझदारीका साथ काम हुन पर्दछ भन्नेमा पार्टीले जोड दिएको भन्दै नेता नेपालले मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको बताएका छन् । आइतबार र सोमबार दुई दिन चल्ने केन्द्रीय परिषद् बैठकले विधान संशोधन मस्यौदामाथि छलफल गरेर अन्तिमरुप दिनेछ । त्यसपछि आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेसँगै संशोधित विधान कार्यान्वयनमा जानेछ ।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७