ललितपुरका पूर्व मालपोत अधिकृत भट्टराईविरुद्ध चार करोड बढीकाे भ्रष्टाचार मुद्दा दायर


१६ माघ २०८०, मंगलवार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका एक शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराईले गैरकानुनी रुपमा चार करोड ४० लाख १५ हजार नौसय २५ रुपैँया ८६ पैसा आर्जन गरेको देखिएको अख्तियारको दाबी छ । भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि मिति २०७९।०२।३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम फेला परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । साे अवधिमा उनको वैध आय पाँच करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिए पनि कुल सम्पत्ति भने १० करोड २३ लाख ९२ हजार दुई सय ८८ रुपैँया १५ पैसा देखिन आएको उनको भनाइ छ ।

‘सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम चार करोड २९ लाख २५ हजार एक १४० रुपैयाँ पाँच पैसा भए पनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कट अफ मितिमा निजले गरेको खर्च तथा लगानी चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसाको वैधानिक स्रोत नखुलेको देखिँदा निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीनबहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले भनेको छ ।

त्यस्तै भट्टराईले स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमतीको नाममा लुकाएको अख्तियारले जनाएको छ । सोहीअनुसार कठेत समेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइ हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए ।

‘मीनबहादुर भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजको कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा जग्गा खरिद, शेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग¸दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम झुना कुमारी कठेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’ अख्तियारले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७