बालकुमारी घटना : जाँचबुझ आयोगले भौतिकमन्त्री ज्वालालाई बयानमा बोलायो


१७ माघ २०८०, बुधबार
Prakash Jwala scaled
फाइल फोटो

काठमाडौँ । गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारी भएको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ ।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्न नपाएको विषयमा भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ घर भई काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका घर भई भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको ज्यान गएपछि सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो ।

ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा युवाहरू आन्दोलित भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला सवार गाडी पुगेको थियो । बालकुमारीबाट ग्वार्कोतर्फको आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले एकीकृत समाजादवादीको बैठकमा सहभागी हुन गएका ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए ।

घटनाका क्रममा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो । तर उक्त घटना आफ्नो कारण नभएको भन्दै मन्त्री ज्वालाले आफूलाई जोगाउने प्रयास गर्दै आएका छन् । गत पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग, २०८०’ बनाइएको थियो। आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समय दिइएको छ ।

यसअघि मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार आयोगले पुस २० गतेदेखि कार्य प्रारम्भ थालेको थियो । आयोगको कार्यालय सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा छ । जहाँ बालकुमारी घटनामा जोडिएका प्रहरीदेखि मन्त्रीहरूसम्मलाई बयान लिइँदैछ । आयोगले यसअघि नै यो घटनाबारे सल्लाह, सुझाव तथा तथ्यपूर्ण सूचना र जानकारी उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७