बेलायतमा आगलागीमा परी नेपाली दिदी–बहिनीको गयो ज्यान


१९ माघ २०८०, शुक्रबार
london dead

बेलायत । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदी–बहिनीको ज्यान गएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ ।

शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन् । उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन् । आगलागीका कारण धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गएको एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष डा. शिव तिवारीले जानकारी दिएका छन् ।

उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो । आगलागी भएको थाहा पाउने बित्तिकै हतार–हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए ।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको थियो । पाँच मिनेटभित्रै दिदीबहिनीको मृत्यु भएकाले उद्धार सम्भव नभएको डा. तिवारीले बताएका छन् । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ ।

परिवार निकट स्रोतले अस्पतालमा पोस्टमार्टम र प्रहरी अनुसन्धानको औपचारिकता पूरा भएको र आगामी साता मंगलबार दिदीबहिनीको अन्त्येष्टि गर्ने तयारी रहेको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झण्डै दुई दशकदेखि स्कटल्याण्डको एबर्डिनमा बस्दै आएको थियो । उनीहरुका तीन छोरीमध्ये एक आफ्नो जीवन साथीसँग बस्दै आएकी छन् । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा समुन्द्री तटमा काम गर्थिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७