राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी


२१ माघ २०८०, आईतवार
nirbachan aayog

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आउँदो फागुन २९ गते गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ । साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ । कार्यतालिका अनुसार संसद् सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ । गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो ।

नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र नेकपा एमालेका १ जना निर्वाचित भएका थिए । यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ । १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ । राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एकएक जना सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि कोशीबाट नवनिर्वाचित सदस्यसमेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी छन् । उनलाई राष्ट्रिय सभा अध्यक्ष पदमा उठाउनकै लागि उम्मेदवार बनाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले बताएका थिए । माओवादी केन्द्रले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने तयारी गरेको छ । माघ ११ को चुनावमा सत्ता गठबन्धन दलहरूले तालमेल गरेर साझा उम्मेदवार तय गरेका थिए तर कोशीमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् ।

कार्की पराजित भएकोमा माओवादीका कतिपय नेताहरूले कांग्रेस संस्थापनइतर समूह पक्षको असहयोग भनेका छन् । तर कांग्रेसको संसदीय दल बैठकले कोशीमा अप्रत्याशित परिणाम आएको निष्कर्ष निकालेको थियो । माओवादीले कोशीमा आफूहरूले एक सिट गुमाउनु परेको र सत्ता गठबन्धनभित्र समझदारीअनुसार आलोपालो प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा एक जना पनि सदस्य नहुने अवस्था देखिएकोले आफूहरूले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषद्मा सदस्य रहने व्यवस्था छ । राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताले छलफल गरिसकेका छैनन् । कांग्रेसका नेता सिटौलाले भने आफू कार्यकारी भूमिका भन्दा पनि नीति निर्माणमा आफ्नो रूचि रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७