पातीहाल्नेमा हिउँ खेल्नेको भीड


२१ माघ २०८०, आईतवार
snow baglung

–डम्मर बुढामगर
बागलुङ । बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सीमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।
बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन । हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन ।

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए । पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन् । पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ । शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको उनले बताए ।

‘पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्’, उनले भने, ‘आज विहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ ।’ गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए । ‘बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जु¥यो’, उनले भने, ‘हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन ।’

उनले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाए । ‘बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो’, उनले भने । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ । हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आउनुभएका महेश बुढाथोकीले बताउनुभयो । आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७