अदालतले रोकिदियो स्वास्थ्यमन्त्रीको बलमिच्याइँ, बसौलाको पक्षमा सर्वोच्चको आदेश


२६ माघ २०८०, शुक्रबार
Damodar Basaula Beema

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यस आदेशसँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्चाइलाई अदालतले रोकिएको छ । यस्तै डा. बसौला पुनः बोर्डमा फकिने बाटो खुला भएको छ ।

कार्यकारी निर्देशक डा. बसौलाले माघ २५ मा दिएको रिटमा आज (शुक्रबार) सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम अदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

डा. बसौलाले ९ माघको क्याबिनेट बैठकले आफूलाई हटाउन गरेको निर्णय विरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्यमन्त्री बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा पुनः सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा डा. बसौलालाई ९ माघ मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै असोज ४ गते डा. बर्सौलालाई ११ बुँदे स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद्ले डा. बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । तर मन्त्रिपरिषदको निर्णयविरुद्ध बसौला १७ कात्तिकमा सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमा कार्यकारी निर्देशकको पदावधि ४ वर्ष तोकेको, सर्वोच्चको अन्तिम निर्णय गर्दा विचार गरिने भन्दैं डा. बसौलालाई तत्काललाई मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ असोज २०८० को निलम्बन सम्बन्धी पत्र कार्यन्वयन नगर्न भनेको थियो । डा. बसौलालाई यथावत काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

‘सर्वोच्चले पूर्ववत रुपमा जिम्मेवारी सम्हाल्नु भनेको छ । आइतबारदेखि जिम्मेवारी सम्हाल्छु,’ बसौलाले भने । गत बुधबार मात्रै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए । बाहिरबाट मनोनित सदस्यलाई कार्यकारी अधिकार दिइएको भन्दै चर्को आलोचना समेत भएको थियो । डा. श्रेष्ठले हिजो दिउसो गएर निमित्तको कार्यभार सम्हालेका थिए । तत्कालीन केपी शर्मा ओली सरकारले १८ मंसिर २०७७ को मन्त्रिपरिषद्को निर्णयबाट बर्सौलालाई कार्यकारी निर्देशकमा नियुक्ति दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७