चितवनमा ५४२ किलो गाँजा बरामद, दुई जना पक्राउ


७ फाल्गुन २०८०, सोमबार
ganja

चितवन । प्रहरीले चितवनमा ५४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोकामा राखेर लुकाइएको गाँजा बरामद गरिएको जानकारी दिए ।

राप्ती–३ स्थित पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गरेको थियो ।

शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको एसपी कार्कीले बताएका छन् । उनका अनुसार सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो । बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने उनले बताए ।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे–३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि–४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ । ट्रकका चालक फरार छन् । ‘मेरो कार्यकालमा मात्रै चार पटक १८० देखि ५४० किलोसम्मको परिमाणमा गाँजा बरामद गरिएको छ । यो नै अहिलेसम्ममा सबभन्दा ठूलो परिमाणमा बरामद भएको हो,’ कार्कीले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७