नेपालको अर्थ व्यवस्था १०–१२ जनाको हातमा छ : सांसद भण्डारी

‘बाँदरलाई बन्ध्याकरण गर्ने रे ! किसानको अनुदान खानेलाई के गर्ने ?


१० फाल्गुन २०८०, बिहीबार
chandra bhandari scaled

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको अर्थ व्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको आर्थिक नीति गलत भएको टिप्पणी गरेका छन् ।

हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०-१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ भण्डारीले प्रश्न गरे । अर्थतन्त्रका एक भन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहेको भन्दै भण्डारीले यो गलत भएको बताए । ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भने, ‘अब यो देश कसरी बन्छ ?’

सांसद चन्द्र भण्डारीले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने भन्दै भएका बहसप्रति आश्चर्य व्यक्त गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशीले सल्ला लगाउन सल्लाह दिएको प्रसङ्ग निकाले । सल्ला लगाएर जंगल बनाएर चिउरीसहितका वनस्पति मासिएपछि बाँदर गाउँ आएको उनको भनाइ थियो ।

‘किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण गर्ने रे…सभामुख महोदय, किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?’, सांसद भण्डारीले भने, ‘विदेशीले जे भन्छन् त्यही गर्दा यो अवस्था आएको हो ।’

उनले विदेशीले सल्ला रोप भन्दिएपछि सबैले सल्ला रोपेको र २० वर्षपछि तिनै विदेशीले आएर सल्ला लगाएर गलत भयो भन्दिएको बताए । उनले अमेरिकाका विभिन्न स्टेटले गाँजा उपभोगमा छुट दिएको भन्दै नेपालमा भने उत्पादनमा समेत प्रतिबन्ध लगाइएको बताए । उनले देशमा पुँजी निर्माण पनि नहुने र पुँजी संचिति पनि नहुने गरेको बताए । प्लेनमा आउनेलाई र गाडीबाट आउने पर्यटकका लागि पैसाको सीमा तोक्नु गलत भएको भन्दै जतिसक्दो ‘पैसा ल्याउ खर्च गर’ भन्ने नीति बनाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७