आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै


१२ फाल्गुन २०८०, शनिबार
veri river
फाइल फोटो

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी / ग्याल्बा जेभीले रु १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका काम समेत गरेको छैन ।

विसं २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष थप गरिएको थियो । हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिए । आठ वर्षसम्म १५ प्रतिशत काम गर्ने निर्माण कम्पनीलाई सडक विभागले शीघ्र निर्माण सम्पन्न गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको छ ।

कार्यालयले अन्तिम पटक १५ दिनको म्याद दिएर निर्माण कम्पनीलाई ताकेता गरेको प्रमुख शर्माले बताए । यसैबीच, कामदारको भुक्तानी नगरेर निर्माण कम्पनीले आफूलाई पीडा दिएको मजदुरहरुले गुनासो गरेका छन् । आफूले ज्याला नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे । तामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले रु १० लाख नपाएका भन्दै तत्काल भुक्तानी दिन माग गरेका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख ज्याला नपाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७