वाफको फाइनलमा आज नेपाल जोर्डनसँग भिड्दै, साम्बा नखेल्ने


१७ फाल्गुन २०८०, बिहीबार
baff

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज (बिहीबार) जोर्डनसँग भिड्दै छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राति ९ः ४५ बजेदेखि शुरु हुँदैछ ।

नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४ औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि बिजेता राष्ट्र हो ।

त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ ।
साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहीबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।
नेपाली महिला फुटबल टिम
गोलकिपर–
एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर– गीता राना, अमृता जैशी, हिराकुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डर– अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड–चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७