कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त


१७ फाल्गुन २०८०, बिहीबार
Manab Bechbikhan

काठमाडौं । महिलालाई कुवेत पठाइ दिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन् ।

प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए । रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए । नेपाल प्रहरी तथा संघ–संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन् । नेपाल फर्किएपछि उनले मियाँविरूद्ध जाहेरी दिइन् । उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी रानाले बताए । अन्य व्यक्तिहरूको खोजी भइरहेको रानाले बताए ।

रानाका अनुसार ती महिलाको घरको आर्थिक अवस्था कमजोर थियो । मियाँले मासिक नेपाली २० देखि २२ हजारसम्म तलब पाइने भन्दै फकाए । कुवेतमा घरेलु कामदारको रूपमा लगाइ दिने प्रलोभन पारेर २०७३ साल जेठ १५ गते सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्‍याए । भारतमा भएका एजेन्टले १० दिनको भिजिट भिसामा ती महिलालाई कोलम्बो पठाएका थिए ।

‘त्यसरी पठाउँदा प्रतिवादीहरूले श्रीलंकाको कोलम्बोमा बुद्धको दर्शन गर्न जान लागेको भन्नु भनी सिकाएर पठाएको अनुसन्धानमा खुलेको छ,’ रानाले भने । कोलम्बो पुगेपछि श्रीलंकन मुलका एक एजेन्टले ती महिलालाई जिम्मा लिए । उनले ठूलो संख्यामा महिलाहरूलाई ६८ दिनसम्म राहदानीलगायतका कागजात जफत गरी बन्धक बनाएर राखे । कोलम्बोबाट २०७३ सालमै उद्धार गरिएकी ती महिलाले जाहेरी दिए पनि मियाँ फरार थिए । पक्राउ परेका मियाँलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७