नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकांश प्रतिवादी पुगे सर्वोच्च


१८ फाल्गुन २०८०, शुक्रबार
top bahadur 1

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अधिकांश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन् । यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ । निलम्वित सचिव टेकनारायण पाण्डेय पछिल्लो पटक सर्वोच्च पुगेका हुन् ।

आफूलाई थुनामा पठाउने निर्णय बदर हुुनपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् । जिल्ला अदालत काठमाडौले थुनामा पठाएपछि पाण्डेय उच्च अदालत पाटन पुुुगेका थिए । उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका छन् । पाण्डेय अघि अन्य थुनामा रहेका प्रतिवादीहरु सर्वोच्च पुगिसकेका छन् । उनीहरुको मुद्दामा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । पाण्डेयको मुद्दामा पनि सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले वेरितको निवेदन दर्ता गराएका हुन् । उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन् । यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनु पर्ने छ । यदि सर्वोच्चले धरौटी माग गरे उनीहरु तोकिएको धरौटी बुझाएर रिहा हुनेछन् ।

सर्वोच्चले वेरितको निवेदन लिएर आएका सबैको निवेदनलाई पहिलो सुनवाइपछि एकै ठाउँमा राखेर सुनुवाइ गर्ने तयारी गरेको छ । सबै निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि एउटै पेसीमा राखेर पुर्पक्षका लागि थुनामा पठाउने निर्णयमा बहस हुनसक्ने सर्वोच्च अदालतको मुद्दा फाँटले जनाएको छ । सबै निवेदन एकै प्रकृतिका भएकाले यस्तो गर्ने अभ्यास विगतदेखि नै हुँदै आएको छ ।

एकै विषयमा धेरै निवेदन र एउटै प्रकरणमा फरक–फरक निवेदन दर्ता भएको पाइएमा सर्वोच्चले सबैलाई साथै राखेर ‘ब्लक हेयरिङ’ गर्दै फैसला सुनाउने गरेको छ । यसो गर्दा लगत कम हुने र समान न्यायको सिद्धान्त पालना हुने बुझाइ छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७