भाजपाले अभिनेता अक्षयकुमारलाई उम्मेदवार बनाउन सक्ने


१९ फाल्गुन २०८०, शनिबार
modi

नयाँदिल्ली । भारतको लोकसभा चुनावअघि एउटा ठूलो जानकारी बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।

यसैगरी, भाजपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया प्रदालाई दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने जानकारी आएको छ । सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक बिहीबार बसेको थियो । सो बैठकपछि भाजपाले आगामी दिनमा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । यो सूचीमा ती उम्मेदवारहरूको नाम समावेश हुनेछ जसको स्थिति बलियो छ । जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायतको नाम समावेश रहेको छ ।

अब भाजपाले धेरै सेलिब्रेटीहरूलाई टिकट दिएर चुनावी लाभ उठाउने प्रयास गरिरहेको स्रोतबाट जानकारी आएको छ । तर, यी ती सिटहरू हुन्, जहाँ भाजपा बलियो स्थितिमा छ । सोही क्रममा बिहार, पञ्जाब र आन्ध्र प्रदेशमा भाजपाले आगामी दुई दिनमा गठबन्धनको गणित समाधान गर्ने र क्षेत्रीय दलहरूसँगको छलफलपछि जतिसक्दो चाँडो उम्मेदवारको नाम टुंगो लगाउने स्रोतबाट जानकारी प्राप्त भएको छ ।

पञ्जाबमा अकाली दल, आन्ध्र प्रदेशमा टीडीपी र बिहारमा जेडीयू, एलजेपी, जितनराम मांझीको हम र उपेन्द्र कुशवाहाको पार्टीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । ३ मार्च साँझसम्म भाजपाले कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने तस्वीर स्पष्ट हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७