तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी


२० फाल्गुन २०८०, आईतवार
Hat siraha

सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्म जस्तै बनेको थियो ।

अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरेपछि महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान यतिबेला खुशी भएका छन् ।

‘हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो । कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या’, किसान महतोले भने, ‘यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्रीवितरण गर्न पाएका छौँ । हामी एकदमै उत्साहित भएका छौँ ।’ यतिखेरै तरकारी किन्ने ग्राहक आइपुग्छन् । तीन किलो काउली जोखिसकेपछि प्रफुल्लित हुँदै महतोले भने, ‘देख्नुभयो नि मलाई बोल्ने फुर्सद पनि हुन्न । अझ साँझ पर्दै गएपछि यहाँ तरकारी खरिद बिक्री गर्नेको भीड हुँदै जान्छ ।’

स्थानीयका अनुसार विसं २०४६/०४७ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो । तरेगना (गाईघाट)मा लाग्ने उक्त हटिया भर्नलाई उदयपुरको नेपालटारबाछ चुरेपहाड छिचोलेर स्थानीय उत्पादन आलु, काउली, रिठ्ठा, तेजपत्ता, सुन्तलालगायतका तरकारी तथा फलफूल खरिद बिक्री गर्न मानिस आउने गर्दथे । तत्कालीन समयमा नेपालटार–गाईघाट सडक सञ्जालमा जोडिएको थिएन । सोही कारण नजिक पर्ने हटिया भएकाले मानिसका ताँती लागेर हटिया आउनेजाने गरेको स्थानीय १६ नं वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले बताए । उनका अनुसार तत्कालीन समयमा छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए ।

‘त्यस समय म २०–२५ वर्षको युवक थिएँ । त्यति ठूलो हाटबजार विविध कारण बन्द हुनपुग्यो, जुन मेरो मानसपटलमा ताजै छ । जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटक–पटक हाटबजार सञ्चालन गर्न पहल गरेता पनि अहिले सफल भएका छौँ’, अध्यक्ष मगरले भने, ‘स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ । साना किसानले पनि व्यावसायिकरूपमा तरकारी तथा फलफूल उब्जाउ गर्नलाई यस हाटबजारले प्रोत्साहन दिनेछ भन्ने विश्वास लिएको छु ।’

गाउँबाट ल्याइएका कृषि सामग्री खरिद बिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष मगरले गरे । हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापार वृद्धि भएको बताउँछन् रक्टु साह । तर हाटबजार सञ्चालनपछि नगरपालिकाले खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था नगरिदिएकामा उनको गुनासो छ । उक्त गुनासो सम्बोधन गर्न नगरपालिकासमक्ष पहल गरिएकाले चाँडै सामाधान हुने आश्वासन पाएको वडा सदस्य राधेश्याम चौधरीले जानकारी दिए ।

लोप भइसकेको हाटबजारलाई नगरपालिकाले पुनः सञ्चालन गरी किसान र उपभोक्ताबीच कृषि सामग्री खरिद–बिक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख महेश चौधरीले बताए । हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै नगर प्रमुख चौधरीले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्‍याएकाले केही महिनाभित्रै नगरपालिकाको अन्य वडामा पनि थप हाटबजार सञ्चालन ल्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । तीन दशकभन्दा लामो समयपछि गाउँमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरूपले सवल र आत्मनिर्भर मात्रै होइन उनीहरूलाई मेहनती र उद्यमशील पनि बनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७