आणविक युद्धको चेतावनी दिए लगत्तै रूसले गर्‍यो आणविक हतियार परीक्षण


२० फाल्गुन २०८०, आईतवार
Vladimir Putin 1

मस्को । रुसले फेरि एक पटक पश्चिमी देशलाई आतंकित बनाएको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तर महादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ । क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गरेकाे मन्त्रालयले जनाएको छ । पुटिनले नेटो देशहरूलाई आणविक युद्धको चेतावनी दिएको दुई दिनपछि यो परीक्षण गरिएको हो ।

समाचार एजेन्सी तासका अनुसार अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘राज्य परीक्षण कोस्मोड्रोम प्लेसेत्स्कमा योष्कर ओला मिसाइल संरचनाका कर्मचारीहरूले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘पीजीआरके यार्स’ प्रक्षेपण गरेका छन । यो मोबाइलमा आधारित क्षेप्यास्त्र हो, अर्थात् ट्रकको मद्दतले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । यो मिसाइलमा धेरै वार हेडहरू छन् ।’

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा पश्चिमा देशहरुको बढ्दो संलग्नता प्रति चिन्ता व्यक्त गरेका थिए । पुटिनले युक्रेनकोतर्फबाट नेटो देशहरू युद्धमा सामेल भए ‘अन्तर्राष्ट्रिय आणविक युद्ध’को जोखिम बढ्ने बताएका थिए । दुई घन्टाको भाषणमा पुटिनले पश्चिमा नेताहरुलाई लापरवाह र गैर जिम्मेवार भएको बताए । यस क्रममा उनले आणविक द्वन्द्वको वास्तविक खतराबारे चेतावनी दिए । यदि आणविक युद्ध भयो भने यसले ‘हाम्रो सभ्यताको विनाश’ निम्त्याउन सक्ने उनले बताए ।
पुटिनले भने, ‘हामीसँग पश्चिमी क्षेत्रमा आक्रमण गर्न सक्ने हतियार पनि छ । हामीले नेटो देशलाई धम्की नदिई सुझाव दिइरहेका छौं । युक्रेनसँग नाटो देशहरूको सम्बन्धले आणविक द्वन्द्वको वास्तविक खतरा खडा गर्छ, जसको अर्थ हाम्रो सभ्यताको विनाश हुनेछ ।’

आरएस–२४ (यार्स) मिसाइल २३ मिटर लामो र मोबाइलमा आधारित बनाइएको छ । रुसको एमआईआरभी यार्स मिसाइल धेरै आणविक हतियार पुर्‍याउन सक्षम छ । यसबाट यो धेरै लक्ष्यहरू प्रहार गर्न सक्षम छ । यो यार्स टोपोल एम मिसाइल प्रणालीको परिमार्जित संस्करण हो । रूससँग विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, जसमा करिब ५,८८९ आणविक हतियार छन् । संयुक्त राज्य अमेरिका लगभग ५८८९ आणविक हतियारसँग दोस्रो स्थानमा छ । रूस र संयुक्त राज्य अमेरिका दुवैले विश्वको ९० प्रतिशत आणविक हतियारहरू नियन्त्रण गर्छन्, प्रत्येक देशद्वारा लगभग १६७० रणनीतिक आणविक हतियारहरू प्रयोग गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७